Saturday, September 17, 2011

भारतको बिकास र प्रगतीको रहस्य


भारतले अंगालेको उदार आर्थिक व्यवस्थाको निरपेक्ष समर्थन गर्ने उदारवादीहरुले त्यहाँको प्रगतिलाई ठुलो उपलब्धिको रुपमा लिन्छन् भने शास्त्रीय समाजवादी वा कम्युनिष्टहरुले तीव्र रुपमा भइरहेको भारतको आर्थिक वृद्धिले ग्रामीण र गरीब जनसंख्यालाई छुन नसकेको र छिट्टै त्यो आन्तरिक द्धन्द्धमा पर्ने भविष्यवाणी गर्ने गरेका छन् । त्यो खाडल दिल्ली वा मुम्बईमा सत्य पनि देखिन्छ कि त्यहाँ गरीव र धनीबिचको खाडल बढीरहेको छ र गरीबहरुको जीवनस्तर घट्दै गैरहेको छ । यो सत्य हेर्न एकपटक भारतको ग्रामीण र पहाडी क्षेत्र घुम्न जाने इच्छा थियो । संयोगवश केही महिनाअघि पश्चिम भारतको उत्तराखण्डका केही गाउँहरु घुम्ने अवसर मिल्यो । त्यहाँ घुमिरहँदा भने मेरो मानस पटलमा भारतको ग्रामीण समुदायको जुन चित्र बनेको थियो, त्योभन्दा बिल्कुल भिन्न अनुभव हुन पुग्यो ।
महाकाली सन्धिका छिटा
महेन्द्रनगरबाट विवादास्पद महाकालीको एकतर्फी पुल तरेर बनबासा बजार पुग्दासाथ चित्र अर्कै देखिन थाल्दछ । सीमा नदी मानिएको महाकाली नदीको पानीको वितरण देखेर कुनै पनि नेपालीको मन किन खिन्न नहोला र ! नेपालतर्फ सिंचाईको लागि एउटा सानो नहरबाट पानी ल्याइएको छ भने भारततर्फ एउटा ठुलो नदी जत्रै नहरमा नेपालतर्फ भन्दा ५,६ गुना बढी पानी लगिएको छ । त्यो देखेपछि वास्तवमा महाकाली सन्धिताका नेपाल ठगिएको छ भन्ने अनुमान सामान्य नेपालीले पनि लगाउन सक्दछ । त्यही कारण नै हुनुपर्दछ, नदीको वाँडफाँडको आधारबारे सोधखोज नै नगरी महाकाली सन्धि राष्ट्रघाती नै थियो भन्ने आमधारणा नेपालमा बनेको छ ।
त्यो पानीको असमान वितरणको प्रभाव भारतीय भूमीतर्फ अगाडी बढ्दै जाँदा स्पष्ट हुन्छ । नेपालतर्फ कञ्चनपुरको जमीन धेरैजसो उजाड देखेर अगाडि बढेपछि भारततर्फ सिंचाइ प्राप्त भएकोले ठुल्ठुला समथर फाँटहरु हराभरा र सिञ्चित देखिन्छन् । वास्तवमा भारतको आर्थिक वृद्धि त्यहाँको ग्रामीण क्षेत्र वा कृषि क्षेत्रको विकास नभई सम्भव भएको हैन भन्न करै लाग्दछ । त्यहाँ कृषिको यस्तो आधुनिकीकरण गरिएको छ कि ठुल्ठुला फाँटहरुमा भर्खरै गहुँ भित्र्याउने तयारी भइरहेको छ, गहुँ काट्नको लागि पनि मेशिनकै प्रयोग भएको छ र भित्र्याउनको लागि थ्रेशरको प्रयोग भएको छ । गहुँका ठुटामा डढेलो लगाएर फेरी अर्को बाली – वर्षे धान लगाउने तयारी भैरहेको छ । यो सबैका लागि खेती प्रणालीको आधुनिकीकरणका साथै उपलब्ध सिंचाइको कारणले पनि सम्भव भएको हो । त्यहाँको खेतहरु हेर्दै अगाडी बढ्दा अर्को रमाइलो पक्ष के देखिन्छ भने फाँटहरुको बिचमा गहुँसँगै सिसौका रुखहरु पनि लगाइएको छ । सम्भवतः ट्रयाक्टर लगाउन कठीन नहोस् भनेर ठाडो र तेस्रो दुवै तर्फबाट बराबर फरकमा लगाइएका रुखहरुले अनौठो दृश्य सिर्जना गर्दछन् । सम्भवतः सिसौले आवश्यक पानी पनि भण्डारण गरिराख्ने र त्यसका पतिङ्गरले मल पनि बनाइराख्ने कारणले यसो गरिएको हुनुपर्दछ । यो दृश्य मेरा लागि बिल्कुलै नौलो थियो । 
बिकासको गति
 चौडा र सुन्दर सडकमा तीव्र रफ्तारमा अगाडी बढ्दै जाँदा भारतको तीव्र आर्थिक वृद्धिको गति पनि थाहा पाउन सकिन्छ । पश्चिम देहरादुनतर्फ अगाडी बढ्दै जाँदा भारतले गरेका थप चमत्कारहरु देखिन्छन् – औद्योगीकरण । कृषिमा आधारित मैदा मिल, खाद्य उद्योग, कागज उद्योग आदि सडकको दायाँबायाँ देखिन्छन्  । केही उद्योगहरु बनिरहेका छन् । वास्तवमा भारतको आर्थिक वृद्धिको कारण बैंगलोर, मुम्बई वा दिल्लीमात्र हो भन्नु भ्रममात्र हो । औद्योगिकीकरणले कृषिमा आधारित जनताको जीवनस्तर छुन नसके त्यो दिगो हुँदैन । भारत त्यसप्रति सचेत देखिन्छ ।
बिकासका अन्य पुर्वाधारका रुपमा रेल्वे बिस्तारको क्रममा छ । शहरहरु बिस्तार भइरहेका छन् । इन्जिनियरिङ र मेडिकल डिग्री पढाउने कलेजहरु क्षणक्षणमै देखिन्छन् । सरकारी अस्पताल, रेल स्टेशन आदि सँगसँगै सिंचाइका अन्य योजनाहरु पनि देखिन्छन् । बाटोको किनारै किनार अर्थात समानान्तर रुपमा ठुल्ठुला नहरहरु पनि सँगसँगै अगाडि बढ्दछन् । नानकमत्ता भन्ने ठाउँमा एउटा ठुलो नदीलाई थुनेर कैयौं बर्गकिलोमिटर चौडा रिजर्भोयर बनाइएको छ । यसले एउटा ठुलो ताल नै बनाएको छ । केही हेक्टर जमीन डुबाएर अर्को हजारौं हेक्टर जमीनमा सिंचाइ हुन सक्दोरहेछ र केवल खाँचो दुरदृश्टिको छ भन्ने यसले देखाउँछ । 
इष्र्या लाग्ने सार्वजनिक यातायात
 अर्को इष्र्या लाग्ने पक्ष भनेको उत्तराखण्डको सार्वजनिक यातायात हो । त्यहाँ सरकारी बस वा रेल उपलब्ध नभएको अवस्थामा मात्र दोस्रो विकल्पको रुपमा निजी सवारी रहेका छन् । लोकल बस नै चढे पनि परिचालकले सीटमै आएर नम्रपुर्वक टिकट दिन्छ र पैसा लिन्छ । एक पैसा पनि ठग्दैन । बस चढ्ने यात्रुहरु पनि नेपालका सीमावर्ती भारतीय राज्यहरु बिहार र उत्तर प्रदेशका भन्दा धेरै अनुशासित छन् । ठगीचोरीको समस्या पनि कम छ । अत्यन्त कौतुहल लागेर बसका चालक र परिचालकको तलब सुविधाबारे सोध्न पुग्दा म विश्मित हुन पुगें । सञ्चयकोष, मेडिकल र इन्स्योरेन्स सुविधाबाहेक चालकको मासिक तलब ३० हजार र परिचालकको १२ हजार भारु हुँदो रहेछ । तसर्थ नेपालमा अल्लारे केटाहरुको कब्जामा रहेका सार्वजनिक बसका स्टेयरिङमा त्यहाँ भने पाका र अनुभवी व्यक्तिहरु देखिन्छन् । फलस्वरुप दुर्घटना पनि कम हुन्छन् ।
त्यहाँका सरकारी बस चढेर अगाडी बढ्दै जाँदा नेपालको मृत साझा यातायात सम्झन बाध्य भइन्छ । १० वर्ष अघिसम्म पनि साझा यातायात नेपालको सबैभन्दा भरपर्दो सार्वजनिक यातायात थियो । नाफामा गइरहेको बस सेवा एकाएक घाटामा गयो । केही मन्त्रीहरु, अथवा उनीहरुका कार्यकर्ताहरुले यातायातमा लगानी गर्र्दै थिए । त्यसको पहिलो पुर्वाधार साझा यातायातलाई डुबाउनु थियो र राज्यका महत्वपुर्ण निकायमा रहेर उनीहरुले अत्यन्त सचेतताका साथ साझा यातायातलाई टाट बनाए र आफ्नो दुनो सोझ्याए । अहिले साझा यातायात इतिहास जस्तै बनेको छ । साझा यातायातका कर्मचारीहरुले पनि त्यसलाई मौन स्वीकृतिमात्र दिएनन्, त्यसका मतियार पनि बने । अहिले उनीहरु घर जलिसकेपछि खरानीको भागवण्डा गरिरहेका होलान् । 
कल्याणकारी व्यवस्था
 भारतले गरिरहेको आर्थिक वृद्धि र त्यसले अवलम्वन गरिरहेको उदार आर्थिक व्यवस्थालाई प्रशंसा गरेर नथाक्ने बुद्धिजिवी र अर्थशास्त्रीहरुको जमातले भारतले अवलम्वन गरिरहेका केही कल्याणकारी उपायहरुबारे भने चटक्कै बिर्सने गरेका छन् । यी कल्याणकारी योजनाहरु सबै राज्यमा समान छैनन् तर हरेक राज्यमा कुनै न कुनै यस्ता योजनाहरु लागु भएका छन् । त्यहाँ सरकारी संस्थान भारतीय आयल कर्पोरेशनको आधिपत्य रहेको छ भने नेपालमा नेपाल आयल निगमलाई निजीकरण नगरी भएकै छैन । एअर इण्डिया त्यहाँको सबैभन्दा ठुलो बायुसेवा हो (त्यहाँ पनि केही निजी कम्पनीहरुको प्रभावमा एअर इण्डियालाई टाट बनाउने प्रयास भइरहेका छन्), हाम्रोमा नेपाल वायुसेवा निगमलाई निजीकरण नगरी हाम्रा अर्थशास्त्रीहरुलाई भएकै छैन । भारत सरकार स्वामित्वको बिएसएनएल त्यहाँको सबैभन्दा ठुलो टेलिफोन सेवा प्रदायक हो, हामीकहाँको नाफामा गइरहेको नेपाल टेलिकमलाई त निजीकरणका लागि विदेशी साझेदार खोज्ने प्रयास पनि अगाडि बढिसक्यो । 
वास्तवमा भारतका गाउँहरु डुल्दा थाहा हुन्छ, समाजको तल्लो तहमा रहेका भारतीयहरुको कल्याणका लागि अवलम्वन गरिएका उपायहरु भरतीय अर्थ राजनीतिक व्यवस्थाका मेरुदण्ड हुन् । साथै भारतीय जनताको बिकास, प्रगति र बृहत्तर हितका लागि उसले चालेका कदमहरु पनि विश्मयकारी छन् । नेपालका राजनीतिज्ञ र बुद्धिजिवीहरुमा भएको आफुले केही नगर्ने तर स्थापित कल्याणकारी संस्था र संस्थानहरु भने नीजि क्षेत्रलाई जिम्मा लगाइहाल्ने भन्ने धारणा खोटपुर्ण छ । उदारवादी अर्थव्यवस्थामा बिश्वास गर्नेहरुले समाजवादका राम्रा पक्षहरुबारे उच्चारण नै गर्न नरुचाउने कारणले बास्तवमा नेपालको बिकास हुन नसकेको हो, नपत्याए टाढा जानु पर्दैन, भारतकै केही गाउँ डुले पुग्छ । हामी भारतको आलोचना गर्दागर्दै उ धेरै अगाडी निक्लिसक्यो । कम्तीमा हामीले निकृष्ट पद्धति मानेर घृणा गर्ने गरेको बिहार समेत प्रगतिको बाटोमा यति अगाडी बढ्यो कि केही वर्षमा बिहारीहरुले हामीसँग तुलना गर्दा त्यस्तै घृणा गर्नेछन्, शायद । बिरोध गर्नमात्र जान्ने नेपाली राजनीतिज्ञहरुले भारतले गरेका राम्रा कुराहरुबाट कहिले सिक्न थाल्ने?

2 comments:

Alight Group of Consultants P.LTD said...

Sir,

So Nice to Have you here with your efforts.

Rajan

Alight Group of Consultants P.LTD said...

Sir,

So Nice to Have you here with your efforts.

Rajan